सिन्धुली —जापानमा कृषि सहकारीको विकास हेरपछि मीनबहादुर श्रेष्ठको अगुवाईमा सिन्धुलीको ढुंगे्रबासमा सहकारीमार्फत शुरु भएको कृषि फार्म हेर्न लायक छ । फार्ममा कुखुरा, बंगुर र माछा पालनका साथै थरीथरीका तरकारी खेती गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य श्रेष्ठ गत वर्षको डिसेम्बरमा जापान पुगेका थिए । फर्कने वित्तिकै उनले कृषि फार्मको तयारी शुरु गरे । पुँजी र शीप एकीकृत गर्न सकिने भएकाले सहकारीलाई माध्यम बनाइयो । सिन्धुली बजारका २५ जनाले २÷२ लाख रुपैया लागनी गर्ने गरी कृषि फार्म शुरु गरिएको हो । श्रेष्ठको अध्यक्षतामा स्थापित सिद्धिविनायक सहकारी संस्थाले ढुंग्रेवासमा १८ विघा जग्गा भाडामा लिएर फागुनदेखि बहुउद्देश्यीय कृषि फार्म शुरु गरिहाल्यो । फार्ममा अहिलेसम्म ४० लाख रुपैया लगानी भएको छ । जापानमा सहकारीबाट व्यवसायिक कृषि देखेपछि यहाँ पनि शुरु गर्न सकसक लाग्यो श्रेष्ठ भन्छन् ।
कृषि फार्ममा अहिले एकचोटीमा ५ हजार कुखुरा पाल्न सकिने खोर बनाइएको छ । यस्तै १ सय बंगुर पालन गरिएको छ । पोखरी खनेर माछा पालिएको छ । कुखुरा र बंगुरको बजार काठमाडौ भए पनि बीपी राजमार्गका कारण ढुवानीमा समस्या छैन । माछा तरकारी त स्थानीय बजारमै खपत हुन्छ । आलु लसुन र थरीथरीका बेमौसमी तरकारी खेती गरिएको फार्ममा अझ उच्च मूल्यका तरकारी खेती गर्ने योजना छ ।
सहकारीलाई जापानी अन्तराष्टिय सहयोग नियोग (जाइका) ले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । जापानमा ठूल्ठूला सहकारीको माध्यमले कृषिको व्यवसायिकीकरण भएको जाइका स्वयंसेवक खानुजोरी गोतो
बताउँछन् । ठूलो स्तरका सहकारी शुरु भएका छैनन् तर सानै भए पनि सहकारीको पनि शुरुवात उत्साहजनक छ उनी भन्छन् ।
जुनार सहकारी केन्द्रीय संघ सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा ढुंग्रबासमा १० करोड रुपैयाको लगानीमा जुनारको प्रशोधन केन्द्र स्थापना गर्ने तयारीमा छ । सरकारले १० लाख रुपैया अनुदान दिएको केन्द्रमा बाँकी लगानी स्थानीय सहकारी र कृषकका साथै उद्योग वाणिज्य महासंघले लगानी गर्न थालेका छन् । संघका अध्यक्ष दीपक कोइरालाका अनुसार आउँदो जुनारको मौसमदेखि सञ्चालन गर्ने लक्ष्य राखिएको उद्योग वार्षिक ५ हजार टन जुनार प्रशोधन हुने क्षमता हुने छ । सिन्धुलीमा वार्षिक ८ हजार टन जुनार उत्पादन हुन्छ । यहाँको जुनारको भारतीय बजारमा पनि माग छ । म्यानुअल मेसिनबाट उत्पादित जुसको बजार विस्तार हुन नसकेकाले अत्याधुनिक उपकरणबाट प्रशोधित जुस उत्पादन गर्न लागिएको हो उनी थप्छन् । यसले जुनारको मूल्य अभिबृद्धि गरी सिन्धुलीमा थप पैसा भित्र्याउने छ । स्थानीय जुनारको माग अन्तराष्ट्रिय बजारमा बढिरहेकोले संघले गुणस्तरीय जुनार उत्पादनमा पनि सिन्धुली र रामेछापका चार गाविसमा गुणस्तरीय जुनारको परीक्षण उत्पादन भइसकेको छ । जाइकाले बीपी राजमार्गसँगै बजारमा पहुँच पुगेको सिन्धुलीमा व्यवसायिक कृषिका लागि प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।
काभ्रेको देवीटारका किसान धर्मबहादुर तामाङ वैदेशिक रोजगारीका लागि खाडी पुगे । तर अहिले सहकारीकै कारण पुनः पसिना बगाउन विदेश जान पर्ने अवस्था नरहेको बताउँछन् । आफ्नो २२ रोपनी जग्गाबाट उनी अहिले वार्षिक १ लाख ५० हजार रुपैया मुनाफा गरिरहेका छन् । मेहनत गरे खाडीको भन्दा बढी कमाइ यहीँ हुने रहेछ उनको अनुभव छ । देवीटारमा जाइकाको सहयोगमा लवग्रीन जापान र लवग्रीन नेपालअन्तर्गत किसान जैविक खेती र जैविक पशुपालनमा आबद्ध छन् । लवग्रीनले सहकारी संस्थामार्फत व्यवसायिक खेतीका साथै बजार प्रबद्र्धनमा पनि किसानलाई सघाइरहेको छ । यसबाहेक स्वास्थ्य, सरसफाई, वातावरण संरक्षणमा पनि स्थानीय सक्रिय छन् । घरघरमा गोवरग्यास प्लान्ट र शौचालय बनाउने लहर शुरु भएको छ ।
सहकारी विभागका वरिष्ठ कृषि अर्थविद् विष्णु घिमिरे कृषि सहकारीले राम्रो नतिजा हासिल गरिरहेको बताउँछन् । ग्रामीण भेगका र अझ महिलाले सञ्चालन गरेका सहकारीले गाउँमा परिवर्तन ल्याएको उनले बताए ।
(सुजित महत, कान्तिपुर ः १३ पुस, २०६९ )