सहकारी के हाे ?

सहकारी शब्द अङ्ग्रेजीको Cooperative को नेपाली रूपान्तर हो । Cooperative शब्द ल्याटिन शब्द Co-operate बाट लिइएको हो जसको अर्थ “सामूहिक” रूपमा काम गर्नु भन्ने हुन्छ । सहकारी शब्द “सह” र “कार्य” गरी दुई वटा शब्दहरूको सम्मिश्रणबाट बनेको हो । सबैसँग मिलेर काम गर्नु सहकारी हो । सहकारीका लागि अर्थात् सहकारी र सँगै काम गर्नका लागि सहकार्य गर्नेहरूका बिचमा केही कुरामा समानता भने हुनु पर्दछ । विशेषतः समान किसिमका आवश्यकता, विचार, क्षमता र उद्देश्यहरू सबै सहकार्य गर्नेका बिचमा समान हुनु पर्दछ । सामूहिक भावना र समान आवश्यकता एवं उद्देश्यका बिच तालमेल हुन सकेन भने त्यहाँ असल सहकार्य÷सहकारी हुन सक्दैन । 

सामान्य अर्थमा सहकारिताले सँगै बस्ने, विचार गर्ने र काम गर्ने पद्धतिलाई बुझाउँदछ । प्राविधिक रूपमा यसलाई व्यावसायिक कौशलको रूपमा लिईएको छ । मानव सध्यताको उत्पत्ति हुनु अगावै सहकारी भावनाको विकास भएको पाईन्छ । कमिला, माहुरीदेखि लिएर जंगली जनावर पनि आ–आफ्नो समूहमा आवद्ध भएर रहन्छन् । तर सहकारीलाई बुझ्ने दृष्टिकोण फरक–फरक पाईन्छ । समाजशास्त्रीको नजरमा सहकारिता सामाजिक उत्पीडनबाट मुक्ति प्राप्त गर्ने साधन हो भने अर्थशास्त्रीको नजरमा बिचौलियाको शोषणबाट मुक्ति प्राप्त गर्ने व्यवसायिक संगठनको रूपमा हो  ।

प्राचीन समयदेखि नै नेपालमा सहकारिताको केही भावनालाई सामूहिक रूपमा काम गर्ने प्रथाको रूपमा समाहित गरिदै आएको छ । पूर्वी पहाडी भेगमा “पर्मा” पश्चिमी भेगमा “ढिकुरी” उपत्यकाको “मंकाखल” तथा “गुठी” जस्ता सामूहिक क्रियाकलाप कायम रहेका छन् ।

वि.सं. २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालय अन्तर्गत सहकारी विभाग स्थापनाबाट संस्थागत रूपमा सहकारिताको विकास शुरु भएको हो । २०११ सालमा पीडित जनतालाई बसोबास गराउन नेपाल सरकारबाट बहुमुखी विकास योजना प्रारम्भ गर्दा सहकारीताको विकास आयोजना अन्तर्गत चितवन जिल्लाको राप्ती दूनमा १३ वटा ऋण सहकारी संस्थाहरू गठन गरिए । २०१५ सालमा सहकारी विभागअन्तर्गतका कर्मचारीलाई ग्रीमण विकास ब्लकको प्रशासनिक नियन्त्रणमा राखी सहकारी सम्बन्धी कार्यहरूलाई अगाडि बढाईयो ।

सहकारी कानूनलाई औपचारिकता, सहकारी ऐन २०१६ तर्जुमा भएपछि प्रदान गरियो । २०१८ सालमा सहकारी संस्था नियमावलीको तर्जुमा भै औपचारिक रूपमा सहकारी विकास कोषको व्यवस्था पनि गरियो । २०१९ सालमा सहकारीमा संलग्न जनशक्तिलाई शिक्षा तथा तालिम दिलाउने सहकारी प्रशिक्षण केन्द्रको स्थापना भयो । २०२० सालमा सहकारी बैंकको स्थापना भए पनि २०२४ सालमा गाउँफर्क राष्ट्रिय अभियानमा सहकारी कार्यक्रमलाई पनि समावेश गरी अगाडि बढाइयो । २०२५ सालमा सहकारी विभागअन्तर्गत संचालित संस्थाहरूको प्रशासन भुमिसुधार विभागलाई सुम्पियो । २०२६ सालमा सहकारी विभागअन्तर्गत संचालित संस्थाहरूको प्रशासन भुमिसुधार विभागलाई सुम्पियो । २०२६ सालमा सहकारी विभाग भूमिसुधार मन्त्रालय अन्तर्गत रहेपछि सहकारी संस्थाहरूको प्रशासन सहकारी विभागबाटै संचालन गरियो । सर्वप्रथम भक्तपुर जिल्लामा अनिवार्य बचत सहकारी संस्थाहरूको शेयरको रूपमा हस्तान्तरण गरियो र सहकारी संघ संस्थाहरूको पुनर्गठन र एकीकरण गरी निर्दिष्ट सहकारी कार्यक्रम लागू गरियो । २०२७ सालमा सहकारी सुदृढीकरण कार्यक्रम अन्तर्गत ३० जिल्लाका हरेक गाउँ विकास समितिमा बहुमुखी सहकारी संस्था खोलियो । पूँजी व्यवस्थाका लागि अनिवार्य बचत, सहकारी संस्थाको शेयरमा परिणत गरियो । २०३५ सालमा सहकारी संघ, संस्थाहरूको व्यवस्थापन कृषि विकास बैंकबाट संघ संसथाकै संञ्चालक समितिलाई जिम्मा दिइयो । संशोधन हुँदा निर्देशक सिद्धान्तमा सहकारितालाई आर्थिक मेरुदण्डको रूपमा समावेश गरियो । २०४१ सालमा साझा संस्था ऐन २०४२ जारी भयो । २०४४ सालमा उच्चस्तरीय साझा विकास केन्द्रीय सहकारी विकास बोर्डको गठन भयो । सहकारी ऐन २०४८ र नियमावली २०४९ जारी भएपछि २०५० सालमा राष्ट्रिय सहकारी संघको स्थापना भएको हो ।

सहकारीताको प्रस्तुत ऐतिहासिक घटनाबाट यसको शुरुवात संस्थागत रूपमा सहकारी प्रयासमा भएको पाईन्छ । व्यवस्थापन पक्ष निश्चित गोरेटामा जान नसकी परीक्षणको रूपमा सञ्चालन गरिएको र राज्य व्यवस्थाले परिकल्पना गरे अनुरूप कार्यक्रम सञ्चालनमा व्यापक जन सहभागिताका साथ अभियानको रूपमा सञ्चालन गर्न सकेको पाईदैन । सहकारी संघ, संस्थाहरू अत्यधिक नियन्त्रणको शिकार भए । तसर्थ परिवर्तित सन्दर्भमा सहकारी ऐन २०४८ पछि सहकारी ऐन २०७४ ले सहकारी संघ, संस्थाहरू स्वस्फुर्तः रूपमा अगाडि जान पाउने वातावरण सिर्जना गरेको छ । कार्यान्वयन पक्षले सकारात्मक परिणम ल्याउने नल्याउने बारेमा अध्ययन, मूल्यांकन गर्ने समय भइसकेको छ । राज्य पुर्नसंरचना पछि स्थानीय निकायहरुले समेत सहकारी क्षेत्रको नियमन र सुपरिवेक्षण गरिरहेको वर्तमान अवस्थामा अझै धेरै सुधार गर्न बाँकी नै देखिन्छ ।
– स्राेत अवतार सुवेदी

१. स्वैच्छिक तथा खुला सदस्यता (Voluntary and Open Membership): सहकारी स्वैच्छिक संगठन हो । यसबाट प्राप्त हुने सेवा, सुविधाहरू उपभोग गर्न र सदस्यताको उत्तरदायित्व बहन गर्न स्वीकार गर्नेहरूका लागि लिङ्ग, सामाजिक, जातिय, राजनैतिक वा धार्मिक भेदभावविना सदस्यता खुला रहन्छ ।
२. सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण (Democratic Member Control) : सदस्यहरूद्वारा नियन्त्रित प्रजातान्त्रिक संस्था नै सहकारी हो । यसका सदस्यहरू नीति निर्धारण र निर्णय गर्न सक्रिय रूपमा सहभागी हुन्छन् । निर्वाचित महिला वा पुरुष प्रतिनिधिहरू सदस्यहरूप्रति जवाफदेही हुन्छन् । प्रारम्भिक सहकारी संस्थाका सदस्यहरूमा एक सदस्य एक मतको आधारमा समान मताधिकार निहित हुन्छ । साथै अन्य तहका सहकारीहरू पनि प्रजातान्त्रिक आधारमै गठन गरिन्छन् ।
३. सदस्यहरूद्वारा आर्थिक सहभागिता (Member’s Economic Participation) : सहकारीको पूँजी उपर यसका सदस्यहरूको न्यायिक अथवा समान सहभागिता र प्रजातान्त्रिक नियन्त्रण हुन्छ किनभने कम्तीमा उक्त पूँजीको केही भाग विशेष रूपले सदस्यहरूकै साझा सम्पत्ति हुन्छ । सदस्यहरूले सहकारीबाट केही बचत भए साधारणतयाः सीमित रूपमा सदस्यता वापत लाभांश प्राप्त गर्दछन् । सदस्यहरूले बचतलाई विशेष गरी सहकारी विकासका लागि सञ्चित कोष स्थापना गरेर (यसको निश्चित अंश अविभाज्य हुन्छ) सहकारीसँग गरेको कारोबारको आधारमा अंशको आधारमा सदस्यहरूलाई लाभ पु¥याउन र सदस्यहरूले निर्धारण गरेको अन्य कार्यहरूलाई सहयोग गर्न विनियोजन गरेका हुन्छन् ।
४. स्वायत्तता र स्वतन्त्रता (Autonomy and Independence) : सहकारी स्वायत्त, स्वावलम्बी र सदस्यहरूद्वारा नियन्त्रित संगठन हो । सरकार तथा अन्य निकायसित कुनै सम्झौता गर्नुपरेमा उनीहरूले सदस्यहरूबाट हुने प्रजातान्त्रिक नियन्त्रण र स्वायत्ततामा आँच नआउने शर्तमा गर्दछन् ।
५. शिक्षा, तालिम र सूचना (Education, Traning and Information) : सहकारीले आफ्ना सदस्य, निर्वाचित प्रतिनिधि र कर्मचारीलाई शिक्षा तथा तालिम प्रदान गर्दछ यसले गर्दा उनीहरू प्रतिनिधिमा निर्वाचित भई तथा प्रबन्धक र कर्मचारीमा नियुक्त भई सहकारीको विकासका निमित्त प्रभावकारी योगदान पु¥याउन सक्षम हुन्छन् । उनीहरू सर्वसाधरण जनता विशेष गरी तरुण पुस्ता र वैचारिक नेताहरूलाई सहकारीको प्रकृति तथा लाभबारे सुसूचित गर्न सक्षम हुन्छन् ।
६. सहकारीबीच पारस्परिक सहयोग (Cooperation among Cooperative) : सहकारीले आफ्ना सदस्यहरूलाई प्रभावकारी तवरले सेवाहरू उपलब्ध गराउँदछन् । सहकारी आन्दोलनको सुदृढीकरणका लागि स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकारिताको माध्यमद्वारा परस्पर मिलेर काम गर्दछन् ।
७. समुदायप्रति चासो (Concern for Community) : सदस्यहरूद्वारा निर्धारण गरिएका नीतिहरूको आधारमा सहकारीले समुदायको दिगो विकासका लागि काम गर्दछ ।

अठारौं शताब्दीको उत्तरार्धतिर आएको औद्योगिक क्रान्तिको प्रभावबाट बेलायतको आर्थिक तथा सामाजिक क्षेत्रमा आएको परिवर्तनको उपलब्धि स्वरूप सहकारी आन्दोलनको उदय भएको हो । औद्योगिक क्रान्तिबाट पीडित केही व्यक्तिहरूको समस्या निराकरणका लागि गरेको खोजको परिणाम नै आजको आन्दोलनको विकसित रूप हो ।

औद्योगिक क्रान्तिभन्दा अघि बेलायतको कृषी तथा उद्योगको स्थिति पनि हालका अविकसित देशहरूको जस्तै थियो । खेती परम्परागत ढंगबाट गरिन्थ्यो । उद्योग सानातिना कालिगढहरूमा मात्र सीमित थियो भने वस्तु चाहिँ हातको प्रयोगबाट घर झोपडिमै उत्पादन तयार गरिन्थ्यो अर्थात् कलकारखाना र यान्त्रिक विकास भएको थिएन ।

१९ औं शताब्दीको शुरुमा बेलायतमा परिवर्तनहरू देखिन थाले । साना किसानहरूका साना–साना जग्गा खेतबारी ठूला–ठूला पूँजीपतिहरूको हातमा पर्न गए । सडक सुधार, नहर निर्माण जस्ता कार्यहरू तिब्रताका साथ सम्पन्न हुन थाले । कृषि पनि वैज्ञानिक तरिकाबाट हुन थाले । औद्योगिक क्षेत्रमा नयाँ–नयाँ आविष्कार भई ठूला–ठूला कलकारखानाहरू स्थापना हुन थाले । उत्पादन ठूलो मात्रामा हुन थाल्यो । कमै मूल्यमा गुणस्तरयि वस्तु प्राप्त हुन थाले । परिणमस्वरूप साना घरेलु उद्योगहरू प्राय बन्द हुन पुगे । श्रमिकहरूले कम ज्यालामा बढी समय काम गर्नुपर्ने भयो । श्रमिकहरूको आर्थिक स्थिति दयनीय बन्दै गयो । अर्कोतर्फ खाद्य सम्बन्धी कानून गडबडी देखि लिएर मिलावट प्रथा सामान्य हुन थाल्यो । यस किसिको प्रतिकूल परिस्थितिका विरुद्ध जुलुस, हडताल, तोडफोड कार्य समेत हुन थाले । फलतः पूँजीवाद सरकारले नियन्त्रण गर्न कठोर उपाय चाल्न थाल्यो ।

यस किसिमका समस्याबाट उम्कन तत्काल केही उपाय नदेखिएकाले विभिन्न अर्थशास्त्री, राजनीतिक चिन्तकहरू तथा समाज सुधारकहरू यसबारे चिन्तित हुन थाले अनेकौं सुधारकहरूले कर्मचारी मजदूर र मालिकहरू बिच सम्बन्ध सुधार गर्न ठूलो प्रयत्न गरे ।

अत्तरिया कैलाली । कैलालीका ग्रामीण क्षेत्रमा सहकारीका माध्यमबाट एक सय पचासचन्दा बढी गोबरग्याँस प्लान्ट निर्माण भएका छन् ।
स्थानीयस्तरमा पाँच वर्ष अघि स्थापित वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाको सरल व्याजदरमा ती प्लान्ट बनेका हुन् । जिल्लाका दक्षिणपूर्वी चार गाविसलाई लक्ष्य गरी स्थापित सहकारी संस्थाले बायोग्याँस निर्माणका लागि वार्षिक आठ प्रतिशत व्याजदरमा अनुदान दिँदै आएको सहकारीका व्यवस्थापक हरि शाहले बताउनु भयो ।
वन संरक्षणमा योगदान पुगोस भन्ने उद्देश्यका लागि सहकारीले प्रतिप्लान्ट रु.१८ हजारको दरले गोबरग्याँस निर्माणका लागि अनुदान दिँदै आएको उहाँको भनाइ छ ।
निम्न आयस्रोत भएका व्यक्तिका लागि सो अनुदान सहयोग सरल र सहज बनेको स्थानीय बासिन्दा बताउँछन् । प्रतिवर्ष यी गाविसमा सहकारीको अनुदानमा ७५ वटादेखि ८० वटासम्म गोबरग्याँस निर्माण हुँदै आएका छन् । सहकारीका अध्यक्ष ज्ञानबहादुर शाहका अनुसार प्लान्ट सँगसँगै शौचालय निर्माणका लागि रु. दुई हजार अलग दिने सहकारीको नियम छ ।
आव २०६८÷०६९ सम्म १५० प्लान्ट निर्माण भएकोमा यस वर्ष चारवटै गाविसमा ७२ थप प्लान्ट निर्माण हुन लागेको जनाइएको छ । प्लान्ट निर्माणका लागि एक सयभन्दा बढीले निववेदन दिएको शाहले जानकारी दिनुभयो । भजनी गाविसमा रहेको रेन्जपोष्टस्तरीय सामुदायिक वन उपभोक्त समितिबाट तीन प्रतिशत व्याजमा रुपियाँ लिएर सहकारीले यहाँका जनतालाई बिनाधितो आयआर्जनका कार्यक्रममा सहयोग गर्दैै आएको बताइएको छ ।
सहकारीले यस वर्ष लालबोझी–१ दक्षिणपुरुवा, थापापुर–मसानखाम र थापापुरको खैरामा रहेको स्कूल टोललाई बायोग्याँसको नमुना गाउँ घोषणा गर्ने तयारी गरेको छ । ती बस्तीमा ८० प्रतिशतभन्दा बढी वस्तीले प्लान्ट निर्माण गरिसकेको व्यवस्थापक शाहको भनाई छ ।
दक्षिणपुरुवामा २५, स्कूल टोलमा ४५ र मसानखाममा १५ घरपरिवार छन् । ती वस्तीमा अधिकांशले प्लान्ट निर्माण गरिसकेका छन् । यसका साथै सहकारीले आय आर्जन कार्यक्रमसमेत लागू गरेको छ ।
सहकारीले बाख्रापालन, कुखुरापालन, भैंसीपालन, बंगुरपालन गर्नका लागि गाउँमा बनेको समूहलाई ऋण सहयोग गर्दै आएको छ । त्यसबाट १५ समूहका तीन सयभन्दा बढी महिला लाभन्वित हुँदै आएका छन् । उनीहरूले हरेक महिना ५ गते सहकारीलाई व्याज दिँदै बचतसमेत गर्न थालेको बताइएको छ । सहकारीकै माध्यमबाट मलखाद र बीउ वितरण हुँदै आएको किसानको भनाई छ ।
सहकारीमा अहिले रु एक करोडभन्दा बढी जम्मा छ । सोही रकम परिचालन गरी स्थानीय जनतालाई कृषि क्षेत्रमा आवश्यक मल र बीउसमेत दिँदै आएको छ । भविष्यमा सहकारीका माध्यमबाट पसल र कृषिजन्य उत्पादन संकलन गर्ने लक्ष्य रहेको सहकारीले बताएको छ । जिल्लाका भजनी, लालबोझी, थापापुर र खैलाड गाविसमा सो सहकारीका एक हजार पाँच सय ८० सेयर सदस्य छन् ।
अत्तरिया संवाददाता, गोरखापत्र , मंसीर १८, २०६९

जर्मनीलाई ऋण सहकारी अभियानको जन्मस्थान मानिन्छ । १९ औं शताब्दीको मध्यताका त्यहाँ ऋण सहकारीको शुरुवात भएको हो । त्यसताका जर्मनीका गरीब कृषक तथा मजदुरहरू साहुहरूको ऋणमा डुबेका थिए । अकाल, गरीबी, ऋणग्रस्तता तथा शोषण चरम विन्दुमा थियो । सम्पूर्ण व्यापार यहुदीहरूको हातमा थियो । कृषकहरूले आफ्ना आवश्यकताका सामानहरू उनीहरूसँग किन्नु पर्दथ्यो । त्यस्तै आफ्ना सम्पूर्ण उपजहरू पनि उनीहरूलाई नै बिक्री गर्नुपर्ने बाध्यता थियो । यसले गर्दा कृषकहरू झन् झन् निर्धन भइरहेका थिए । यतिसम्म भनिन्छ कि त्यस समयमा जर्मनीका सम्पूर्ण खेत तथा घरहरू उपर ऋणको भार भयो । यस दयनीय अवस्थालई सुधार गर्न तत्काल कार्यवाहीको खाँचो महसुश भइरहेको थियो । त्यसैताका एफ.डब्लु.राइफेसन र फ्रान्ज शुल्ज सुधारकको रूपमा देखा परे ।

कृषक तथा मजदुरहरूको दयनीय अवस्थाबाट द्रविभूत भएर राइफेसन र शुल्जले करीब एकै समयमा आफ्ना सुधारका कार्यहरू शुरु गरे । तर यी दुइको कार्य क्षेत्र पूर्णतः अलग थियो । राइफेसनले आफ्ना सुधारका कार्यहरू ग्रामीण क्षेत्रका जनतामा केन्द्रित गरेका थिए भने शुल्जको शहरी क्षेत्रमा । जेहोस् दुवै के कुरामा एकमत देखिए भने–यहुदीको हातमा छुटकारा नपाउन्जेलसम्म गरीब जनताको स्थितिमा सुधार ल्याउन सम्भव छैन र गरीब जनतालाई मौद्रिक सहयोग उपलब्ध गराउनु समस्याको स्थायी उपाय होइन । उनीहरूले यसको लागि सुधार कार्यमा सम्पूर्ण जनताको प्रभावकारी सहभागिता आवश्यक ठाने र पारस्परिक सहयोगमा आधारित आत्म–सहयोग लाई सहकारितालाई यसको उपयुक्त माध्यमको रूपमा लिए ।

आधार मूल्यहरू मूलतः सहकारी सदस्यहरूबीचको सम्बन्ध कायम गर्ने आन्तरिक प्रकृतिका देखिन्छन् ।
(१) आत्म–सहयोग सहकारीका सदस्यहरूले स्वावलम्बनमा विश्वास गर्दछन् । परमुखापेक्षी सोचले सहकारी संस्थाको स्थापना गरिएको हुँदैन ।
(२) स्व–उत्तरदायित्व आफ्नै आव्हानमा जिम्मेवारी लिनु पर्दछ भन्ने विश्वास स्व–उत्तरदायित्वको मूल्य हो ।
(३) प्रजातन्त्र सदस्यहरूको निर्णय प्रक्रियामा सक्रिय सहभागिता रहने प्रजातान्त्रिक विधि नै सङ्गठनका आर्थिक सामाजिक क्रियाकलापहरूलाई सुव्यवस्थित गर्ने सर्वोत्तम विधि हो ।
(४) समानता सदस्यहरूबीच भेदभावरहित व्यवहार गरिनु पर्दछ । सदस्यहरूबीच समानता नभएको अवस्थामा संगठनको विकास हुन सक्दैन ।
(५) न्याय सहकारीका सदस्यहरूले कसैलाई मर्का पारी फाइदा लिनु हँुदैन भन्ने विश्वास गर्दछन् । न्याय भन्नाले शोषण विहिन आर्थिक सम्बन्धहरू प्रवद्र्धन गर्ने मूल्य हो ।
(६) ऐक्यवद्धता एक्यवद्धता भन्नाले सदस्यहरू बीचको एकता मािथको विश्वास हो । समान आंकाक्षा राख्ने सदस्यहरू एकजुट भएर प्रयास गरेको खण्डमा आफ्नो आंकाक्षा साकार पार्न सक्दछन् ।

नैतिक मूल्यहरू विशेषतः सहकारी संगठन र समाजबीचको सम्बन्धसँग गाँसिएको देखिन्छन ।

(१) इमान्दारिता
गैरसदस्य र समुदायलाई नछल्ने मूल्य नै इमान्दारिताको मूल्य हो । सहकारीले स्वभावैले देशको कानून पालना गर्दछन् र तिनका क्रियाकलापहरू छर्लङ्ग हुन्छन् ।
(२) खुलापन
खुलापनको मूल्य वस्तुतः स्वतन्त्रताको मूल्य हो । सहकारीहरूको सेवा उपयोग गर्नेहरूका लािग पनि संस्थाको सदस्यता सधैं खुला रहन्छ भने सदस्यता त्याग गर्न चाहने सदस्यले पनि जुनसुकै बेला संस्था छाड्न सक्छन् ।
(३) सामाजिक उत्तरदायित्व
सहकारी संस्थाहरूले सामाजिक उत्तरदायित्व ग्रहण गर्दछन् । समाजको इकाईको रूपमा जुनसुकै सङ्गठनको समाजप्रति जिम्मेवारी रहन्छ । सो जिम्मेवारी पूरा नगर्ने सङ्गठन समाजग्राह्य हुँदैन ।
(४) अरुको हेरचाह
सहारीका सदस्यहरूले सम्भव भएसम्मका उपायहरूद्वारा समाजका अरु सदस्यहरूको समेत भलो गर्न खोज्दछन् ।

अर्घाखाँची, असोज २० गते । अर्घाखाँची ठाडाका युवाहरूले व्यावसायिक रुपमा गाई पालन गरी राम्रै आम्दानी गर्न सफल भएका छन् । ठाडाको मुख्य बजार नजिकै रहेको गंगामा शुरु गरेको व्यवसायिक गाई पालनमा आजभोलि साँझ बिहान दूध किन्नेको भीड लाग्ने गरेको छ । स्थानीय ७ युवाले सिर्जनशील कृषि सहकारी संस्था नामक संस्था दर्ता गरी १५ रोपनी जग्गा लिजमा लिई गाई पालन, बंगुर पालन, तरकारी खेती, कुखुरा पालन, संयुक्त रुपमा गर्न थालेका हुन् । अर्घाखाँचीको दोस्रो ठूलोबजारमा रहेको यो फार्ममा गाई २५ वटा, बंगुर ५ करीव ३ रोपनी जग्गामा तरकारी खेती र ५ सयको हाराहारीमा कुखरा पालिएको छ । जिल्लाको दक्षिण भेगलाई सबै वस्तु पु¥याउनु पर्ने भएकाले मागलाई थेग्न नसकिएको समूहका अध्यक्ष मोती बेल्बासेले बताउनु भयो । संस्थाको संचालनका लागि एक व्यक्तिले ४ लाख लगानी गरेको जनाइएको छ । हामीले दक्षिणको अर्घाखाँचीलाई आवश्यक पर्ने सबै कृषिका सामग्री उपलब्ध गराउने उद्देश्यले फर्म दर्ता गरेको बताउने साउदी अरबबाट फर्केका युवा बेल्बासे आफूहरूले सकेसम्म गुणस्तरयुक्त सामान दिने प्रयास गरेको बताउनु भयो ।

अर्घाखाँचीको अतिरिक्त कपिलवस्तु, पाल्पाबाट दूध, बंगुर, कुखरा र तरकारी लिन आउने हुँदा माग तिब्र रहेको समूहका सचिव नारायण बेल्बासेले बताउनु भयो । माग बढी भएकाले अब केही समयमै आफूहरूले सबै सेवा बढाउन लागेको सचिव बेल्बासेले थप्नुभयो ।

नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण दिनका लागि आफूहरूले यहाँ कृषि सहकारी मार्फत काम शुरु गरिएको शेयर सदस्य केदार बेल्बासेले भन्नु भयो । सातजना सबै ठाडा गाविसकै हुन् । सात जनामध्ये अध्यक्ष विदेशबाट आउका हुन् । सचिव स्थानीय काँग्रेसका नेता हुन् । शेयर सदस्य केदार बेल्बासे मालेका जिल्ला सचिव, हेमनाथ भुसाल माओवादीका पूर्व लडाकु हुन् भने अर्का सदस्य सुरेन्द्र बेल्बासे एमालेका जिल्ला स्तरीय नेता हुन् । आस्थाले सबै राजनीति पार्टीमा आवद्ध रहेका नेताहरू पनि आर्थिक क्रान्तिका लागि लागि परेका छन् ।

सातजनाको समूहलाई सबै खर्च कटाई मासिक रुपमा १ लाख जति आम्दानी हुने गरेको केदार बेल्बासेले बताउनु भयो । गाईले दिएको गोवरलाई तरकारी खेतीमा प्रयोग गरेको साथै गाईको गहुँतलाई औषधीको रुपमा तरकारीमै प्रयोग गरिरहेका छौं उहाँले थप्नु भयो । अर्काको मुलुकमा गएर जे काम पनि गर्न तयार हुने हामी नेपाली आफ्नै देशमा केही गर्न लजाउनु दुखद भएको भन्दै केही वर्षमै आफूहरू नेपालकै उदाहरण कृषि संस्था बन्ने दावी गर्नुभयो । गाई जर्सी, होलास्टिन, बंगुर उन्नत जात र बेमौसमी तरकारी खेती गरेको कृषकहरूको भनाइ छ । फर्म संचालनबाट अन्य १३ जनाले समेत रोजगारी पाएका छन् । १३ जना कामदारहरूले नियमित रुपमा फर्ममा काम गरिरहेका छन् । आफूहरूले शुरु गरेको सहकारीमा राज्यबाट खास सहयोग नपुगेको भन्दै सहयोग गरिदिन सरकारी निकायलाई सञ्चारकर्मी मार्फत आग्रह समेत गरेका छन् । जिल्लाका विभिन्न ठाउँका कृषकहरू पनि केही कुरा सिक्नको लागि त्यहाँ दैनिक जसो आउने गरेको कृषकको भनाई छ । जिल्लाको नमूना योग्य फर्म चलाएकोमा खुशी व्यक्त गर्दै जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीका प्रमुख डा. गोपाल गिरीले आफ्नो कार्यालयबाट सहयोग प्रदान गर्ने बताउनु भयो ।

अर्घाखाँची समाचारदाता, गोरखापत्: असोज २१, २०६९

सिन्धुली —जापानमा कृषि सहकारीको विकास हेरपछि मीनबहादुर श्रेष्ठको अगुवाईमा सिन्धुलीको ढुंगे्रबासमा सहकारीमार्फत शुरु भएको कृषि फार्म हेर्न लायक छ । फार्ममा कुखुरा, बंगुर र माछा पालनका साथै थरीथरीका तरकारी खेती गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य श्रेष्ठ गत वर्षको डिसेम्बरमा जापान पुगेका थिए । फर्कने वित्तिकै उनले कृषि फार्मको तयारी शुरु गरे । पुँजी र शीप एकीकृत गर्न सकिने भएकाले सहकारीलाई माध्यम बनाइयो । सिन्धुली बजारका २५ जनाले २÷२ लाख रुपैया लागनी गर्ने गरी कृषि फार्म शुरु गरिएको हो । श्रेष्ठको अध्यक्षतामा स्थापित सिद्धिविनायक सहकारी संस्थाले ढुंग्रेवासमा १८ विघा जग्गा भाडामा लिएर फागुनदेखि बहुउद्देश्यीय कृषि फार्म शुरु गरिहाल्यो । फार्ममा अहिलेसम्म ४० लाख रुपैया लगानी भएको छ । जापानमा सहकारीबाट व्यवसायिक कृषि देखेपछि यहाँ पनि शुरु गर्न सकसक लाग्यो श्रेष्ठ भन्छन् । कृषि फार्ममा अहिले एकचोटीमा ५ हजार कुखुरा पाल्न सकिने खोर बनाइएको छ । यस्तै १ सय बंगुर पालन गरिएको छ । पोखरी खनेर माछा पालिएको छ । कुखुरा र बंगुरको बजार काठमाडौ भए पनि बीपी राजमार्गका कारण ढुवानीमा समस्या छैन । माछा तरकारी त स्थानीय बजारमै खपत हुन्छ । आलु लसुन र थरीथरीका बेमौसमी तरकारी खेती गरिएको फार्ममा अझ उच्च मूल्यका तरकारी खेती गर्ने योजना छ । सहकारीलाई जापानी अन्तराष्टिय सहयोग नियोग (जाइका) ले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । जापानमा ठूल्ठूला सहकारीको माध्यमले कृषिको व्यवसायिकीकरण भएको जाइका स्वयंसेवक खानुजोरी गोतो बताउँछन् । ठूलो स्तरका सहकारी शुरु भएका छैनन् तर सानै भए पनि सहकारीको पनि शुरुवात उत्साहजनक छ उनी भन्छन् । जुनार सहकारी केन्द्रीय संघ सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा ढुंग्रबासमा १० करोड रुपैयाको लगानीमा जुनारको प्रशोधन केन्द्र स्थापना गर्ने तयारीमा छ । सरकारले १० लाख रुपैया अनुदान दिएको केन्द्रमा बाँकी लगानी स्थानीय सहकारी र कृषकका साथै उद्योग वाणिज्य महासंघले लगानी गर्न थालेका छन् । संघका अध्यक्ष दीपक कोइरालाका अनुसार आउँदो जुनारको मौसमदेखि सञ्चालन गर्ने लक्ष्य राखिएको उद्योग वार्षिक ५ हजार टन जुनार प्रशोधन हुने क्षमता हुने छ । सिन्धुलीमा वार्षिक ८ हजार टन जुनार उत्पादन हुन्छ । यहाँको जुनारको भारतीय बजारमा पनि माग छ । म्यानुअल मेसिनबाट उत्पादित जुसको बजार विस्तार हुन नसकेकाले अत्याधुनिक उपकरणबाट प्रशोधित जुस उत्पादन गर्न लागिएको हो उनी थप्छन् । यसले जुनारको मूल्य अभिबृद्धि गरी सिन्धुलीमा थप पैसा भित्र्याउने छ । स्थानीय जुनारको माग अन्तराष्ट्रिय बजारमा बढिरहेकोले संघले गुणस्तरीय जुनार उत्पादनमा पनि सिन्धुली र रामेछापका चार गाविसमा गुणस्तरीय जुनारको परीक्षण उत्पादन भइसकेको छ । जाइकाले बीपी राजमार्गसँगै बजारमा पहुँच पुगेको सिन्धुलीमा व्यवसायिक कृषिका लागि प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।

काभ्रेको देवीटारका किसान धर्मबहादुर तामाङ वैदेशिक रोजगारीका लागि खाडी पुगे । तर अहिले सहकारीकै कारण पुनः पसिना बगाउन विदेश जान पर्ने अवस्था नरहेको बताउँछन् । आफ्नो २२ रोपनी जग्गाबाट उनी अहिले वार्षिक १ लाख ५० हजार रुपैया मुनाफा गरिरहेका छन् । मेहनत गरे खाडीको भन्दा बढी कमाइ यहीँ हुने रहेछ उनको अनुभव छ । देवीटारमा जाइकाको सहयोगमा लवग्रीन जापान र लवग्रीन नेपालअन्तर्गत किसान जैविक खेती र जैविक पशुपालनमा आबद्ध छन् । लवग्रीनले सहकारी संस्थामार्फत व्यवसायिक खेतीका साथै बजार प्रबद्र्धनमा पनि किसानलाई सघाइरहेको छ । यसबाहेक स्वास्थ्य, सरसफाई, वातावरण संरक्षणमा पनि स्थानीय सक्रिय छन् । घरघरमा गोवरग्यास प्लान्ट र शौचालय बनाउने लहर शुरु भएको छ ।

सहकारी विभागका वरिष्ठ कृषि अर्थविद् विष्णु घिमिरे कृषि सहकारीले राम्रो नतिजा हासिल गरिरहेको बताउँछन् । ग्रामीण भेगका र अझ महिलाले सञ्चालन गरेका सहकारीले गाउँमा परिवर्तन ल्याएको उनले बताए ।
(सुजित महत, कान्तिपुर ः १३ पुस, २०६९ )